Tuesday, August 2, 2016
अब ई–आर्ट सपिङ
श्रावण १६, २०७३- ई–आर्टस् नेपाल डट कमको इमेल ठेगानामा एउटा म्यासेज आयो । एक विदेशी नागरिकले लेखेका थिए, ‘मनुजबाबु मिश्रको मोनालिसा पेन्टिङ किन्न चाहन्छु ।’ लियोनार्दो दा भिन्चीले कोरेको मोनालिसाको प्रिन्ट संसारभर पाइन्छ । तर, ती विदेशीले किन नेपाली कलाकारको सिर्जना मन पराए होलान् ? ई–आर्टस् ग्यालरीका मुख्य संयोजक आशा डंगोल भन्छन्, ‘मनुज बाबुको मोनालिसामा नेपालीपन छ, त्यसैले फरक लागेको हुन सक्छ ।’
उनले भने जस्तै, मनुजले मोनालिसालाई साँच्चिकै नेपालीकरण गरेका थिए । गुन्यू, चोलीमा सजिएकी मोनालिसा डोको बोकेर हिँड्दै गरेको चित्रले निकै चर्चा पनि पाएको थियो, ढुंग्री लाएकी यही मोनालिसा विदेशीको पनि रोजाइमा पर्यो । त्यसैले चार वर्षअघि मनुजको १२ वटा मोनालिसा सिरिजका चित्रहरू ती विदेशीले अनलाइन– मार्फत् नै खरिद गरे ।
चित्रकारसमेत रहेका आशाले त्यति बेलादेखि अनलाइन मार्केटको प्रभाव कति बुलन्द हुँदो रहेछ भन्ने महसुस गरे । ‘कहाँ न कहाँको व्यक्तिले नेपाली कलाकारका सिर्जना खोजी गर्दा रहेछन्,’ उनले भने, ‘त्यसपछि नै हो अनलाइन मार्केटमा भविष्य छ भन्ने लाग्न थालेको ।’ उनीसँग इन्टरनेटबाटै २०११ देखि २०१२ को बीचमा एक सय चित्र बिक्री गरेको अनुभव सुनाए । त्यस्तै, २०१४ देखि २०१६ सम्म ५० चित्र बेचे । भूकम्पपछि भने अनलाइन मार्केटमा असर परेको आशा बताउँछन् ।
नेपाली कला बजार विश्वव्यापी बनाउन र प्रमोसन गर्न ६ वर्षअघि काष्ठमण्डप गु्रप र बिजनेस वुमन सुजन श्रेष्ठ मिलेर ई–आर्टस् नेपाल ग्यालरी सञ्चालनमा ल्याएको हो । आशाका अनुसार ग्यालरीमा मनुजसँगै, शशि शाह, किरण मानन्धर, सीमा शाह, उमाशंकर शाह लगायत पाका कलाकारसँगै युवापुस्ता गरी ६० जनाका १०/१० पेन्टिङ बिक्रीमा राखिएका छन् । किरणका अमूर्त चित्रसँगै सीमा र उमाका मिथिला प्रभावका चित्र धेरैले मन पराउने गरेको उनले बताए ।
पछिल्लो समय ग्यालरी सञ्चालनसँगै वेबसाइटमार्फत् आर्ट मार्केट सुरु गर्नेहरू पनि बढ्दै छन् । भाव आर्ट ग्यालरीका संस्थापक पवनप्रताप राणाले अनलाइनमार्फत् राम्रो आर्ट व्यापार गर्न सकिने अनुभव बटुलेका छन् । पाँच वर्ष यता व्यक्तिगत कारणले अपडेट हुन नसके पनि विगतका दिनमा अनलाइनबाट थुप्रै चित्र व्यापार गरेको उनले बताए । उनका अनुसार ८५ प्रतिशत नेपाली नै उनका अनलाइनका ग्राहक छन् । वेबसाइटमा राखिएका पेन्टिङ हेरेर सम्पर्क राख्नेहरू पनि धेरै छन् । एभरेस्ट आर्ट ग्यालरी खोलेका लक्ष्मीप्रकाश सैंजूले पनि अनलाइन सेलिङ गर्न थाले ।
प्रदर्शनी गरेर नजिकका ग्राहक मात्रै प्रभावित हुन्छन् । सैंजूका अनुसार इन्टरनेटको सहायता लिनुको कारण विश्वबजारमा रहेका अथाह ग्राहकलाई तान्नु हो । उनले वेबसाइटमा ५ सयदेखि २ लाख रुपैयाँसम्म पर्ने चित्रहरू बिक्रीमा राखेका छन् । एकजना ताइवानी नागरिकले उनको वेबसाइटमा राखेका चित्र हेरेपछि ग्यालरी खोज्दै आएको उनले बताए । ‘अनलाइन नभएको भए यो कसरी सम्भव थियो र ?’ उनले भने, ‘त्यसपछि उसले अनलाइनमा राखेका चित्र प्रत्यक्ष हेरेर केही चित्र किनेर पनि लग्यो ।’
अनलाइन ग्यालरीमा राम्रो आर्ट मार्केट भए पनि सञ्चालकहरू आर्थिक पाटो भने खासै खुलाउन चाहँदैनन् । यति नै भन्ने निश्चित नहुने दाबी गर्दै उनीहरू पन्सिन्छन् । आर्टस् अफ नेपालका रामकृष्ण सिंह भन्छन्, ‘खुद्रा व्यापारजस्तो आर्ट मार्केटको तुलना गर्न मिल्दैन ।’ उनले नयाँ पुस्तालाई प्रमोट गर्ने र पुराना पुस्ताको कृति संकलन गर्ने उद्देश्यले अनलाइन ग्यालरी खोलेको बताए । १० हजार रुपैयाँदेखि ५०/६० हजार रुपैयाँ पर्ने चित्र उनले अनलाइनमा राखेका छन् । पेसाले चाहिँ उनी इन्जिनियर हुन् । आर्ट मार्केट नलाइनमार्फत् सम्भावना देखेपछि उनले कलाकारसँग मिलेर डिजिटल ग्यालरी सञ्चालनमा ल्याएको बताए । पौभा मन पराउने विदेशीले धेरै अनलाईन सर्च गरेर सोधपुछ गर्ने गरेको उनको अनुभव छ ।
ई–आर्ट मार्केटको आकर्षण बुझेर लाग्नेहरू पनि उत्तिकै बढ्दै छन् । ‘इन्टरनेटबिनाको व्यापार के व्यापार ?’ आर्ट प्रमोटर दिवेश थापा भन्छन्, ‘अब डिजिटल प्रविधि अनिवार्यजस्तै भइसकेको छ ।’ उनले पनि आर्टनेपालडटनेट सञ्चालन गर्ने तयारी गरिरहेका छन् । उनलाई यसको महत्त्व ७ वर्ष कतारमा बस्दा महसुस भएको रहेछ । व्यक्तिगत कारणले विदेश पुगेका दिवेसले स्वदेशबाट आफूले कलेक्ट गरेका २२ चित्रसँगै लगेका थिए । त्यसपछि उनले
आफ्नो ब्लगमा ती चित्रका प्रिन्ट राखेर मूल्य पनि दिए । केही समयपछि उनको ब्लग सर्च गरेर चित्र किन्न माग गर्ने हरू थुप्रै भेटिए । ‘ती प्राय: नेपाली ग्राहक नै थिए,’ उनी भन्छन्, ‘अनलाइनबाटै सबै चित्र बिक्री भयो ।’ उनले त्यसपछि स्वदेश फर्केर अनलाइन आर्ट ग्यालरी खोल्दा राम्रै व्यापार हुने हिम्मत जुटाएका हुन् । उनले आफ्नो अनलाइनमा कलाकारको व्यक्तिगत परिचय र कलासम्बन्धी अनुसन्धानात्मक सामग्रीसमेत राख्ने जनाए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment